सिरहामा प्रहरीलाई गोली लाग्याे, थप उपचारको लागि विराटनगर रिफर

  • प्रकाशित मिति : २०८३ श्रावण १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

सिराहाको गोलबजारमा बिहीबार भएको हिंसात्मक प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक सहायक हवल्दारलाई गोली लागेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा गोली लागेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अमरेन्द्र बहादुर सिंहले जनाएको छ ।



उनका अनुसार सुरुमा ढुङ्गा प्रहारबाट चोट लागेको अनुमान गरिएकाले सामान्य उपचार गरिएको थियो। तर दुखाइ कम नभएपछि अस्पतालमा लगेर एक्स–रे गर्दा उनको दाहिने खुट्टाभित्रैसम्म चोट भेटिएको हो।

‘सुरुमा ढुङ्गाले लागेको होला भन्ने लागेको थियो। पछि दुखाइ कम नभएपछि प्रादेशिक अस्पतालमा चेकजाँच गर्दा गोली लागेको जस्तो पाइएपछि अहिले विराटनगर रिफर गरिएको हो,’ प्रवक्ता सिंहले बताए ।

गोली कसले र कुन हतियारबाट प्रहार गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रवक्ता सिंहले बताए ।